पार्टी एकता र सरकार गठन एकसाथः रावल

काठमाडौ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार काठमाडौमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताए ।  देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उनको भनाइ थियो । 
रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे ओली र प्रचण्डबिच छलफल भएको बताए ।  उनले एकताबारे अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भैसकेको बताए । 
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउ भएकाले उसले गरेका कतिपय निर्णयहरु आफूहरुले पूनरावलोकन गर्ने पनि उनको भनाई थियो । वर्तमान सरकारले गरेका कतिपय गलत निर्णयहरु पूनरावलोकन गर्ने र निर्वाचन आचारसंहित भए खारेज गर्ने समेतको चेतावनी उनले दिए ।
रावलले प्रदेश सभाका प्रमुखबारे पनि त्यसको औचित्यका आधारमा पूनरावलोकन गरिने स्पष्ट पारे । वाम गठबन्धनको मुख्य उद्देश्य भनेको अब मुलुक र जनताको समृद्धि भएकोले त्यसकै लागि आफूहरु केन्द्रित हुने उनको भनाई थियो ।

Posted On Monday, February 12, 2018 - 10:40

लेखक परिचय

हिमालपारी मिडिया

हिमालपारी मिडिया

प्रतिक्रिया